दमौली १७, जेठ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ ।

उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा रोकिएको थियो । यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो ।

गत वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण हिजो मङ्गलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गाैला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो ।

उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा सातवटा बिग्रिएका थिए । राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।

उहाँले भन्नुभयो, “अब नौवटा उपकरणबाट सेवा दिन सकिने भएको छ ।” चारवटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै आएको थियो । चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने गरेका थिए । एघारवटै उपकरण सञ्चालन भए दैनिक २७ बिरामीले सेवा पाउन सक्छन् ।

केन्द्रले दैनिक बिहान ७ देखि राति ११ बजेसम्म डायलायसिस सेवा सञ्चालन गर्दैआएको छ । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो । केन्द्रमा हाल डायलायसिस सेवा लिने बिरामीको सङ्ख्या ५० रहेको छ ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिएको छ । युनिटमा हालसम्म दुई सय २८ जनाले डायलायसिस सेवा लिएका छन् ।

केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन् । हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो ।

केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर