काठमाडौँ, १३ जेठ । संसद्को अवरोध हटाउन शीर्ष नेताहरु छलफलमा  जुटेका छन् ।  प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्छ ।

सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ । हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमाले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ । आज बैठक अगाबै एमालेलाई सहमतिमा ल्याउने प्रयासस्वरुप शीर्ष तहमा छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर