काठमाण्डौं, ७ जेठ । म्यानचेष्टर सिटीले यस सत्रको इङ्लिस प्रिमियर लिगको उपाधि तीन खेलअघि नै जितेको छ ।
हिजो शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी बाँकी तीन खेल नखेल्दै च्याम्पियन बनेको हो ।
फरेस्टको घरेलु मैदानमा भएको सो खेलमा ताइवो अवोनियीले १९औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्यो । आर्सनल पराजित भयो ।
आर्सनाल प्रिमियर लिगको यो सत्रमा सुरुदेखि उत्कृष्ट लयमा थियो । तर पछिल्ला खेलहरुमा खराब प्रदर्शन गर्दा यो टिमको २००४ पछि पहिलो पटक लिग जित्ने सपना पूरा हुन सकेन ।
यो हारपछि आर्सनलको ३७ खेलबाट ८१ अंक छ । उसले अब एक खेल मात्र खेल्न बाँकी छ । शीर्ष स्थानको सिटीको ८५ अंक छ । सिटीले तीन खेल खेल्न बाँकी नै छ । सिटीले यी सबै खेल हारे पनि अब आर्सनलले उसलाई भेट्टाउन सक्तैन ।
यस्तै हिजोको जितपछि म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिग छनोट नजिक पुगेको छ । कासेमिरोको गोलमा बर्नमाउथलाई १-० ले जितेपछि युनाइटेडले शीर्ष चारमा रहने स्थिति सहज बनाएको हो ।
हिजोकै अर्को खेलमा लिभरपुलले एस्टन भिल्लासँग १-१ को बराबरी गरेको छ । यो बराबरीले गर्दा पाँचौ स्थानमा रहेको लिभरपुललाई शीर्ष चारमा पुगेर आगामी सत्रको युरोपियन च्याम्पियन्स लिगमा छनोटमा पर्न निकै असहज भएको छ ।
अहिले म्यानचेस्टर युनाइटेड ३६ खेलबाट ६९ अंकसहित चौथो स्थानमा छ । उसले अब बाँकी दुई खेलबाट १ अंक मात्र जोडे पनि शीर्ष चारमा स्थान पक्का हुन्छ ।
लिभरपुल ३७ खेलबाट ६६ अंकसहित पाँचौ स्थानमा छ । उसले आफूले बाँकी रहेको यौटा खेल जितेर मात्र पुग्दैन, म्यनयुले बाँकी दुबै खेल हार्दा मात्र लिभरपुलको भाग्य खुल्छ ।
लिभरपुलको यै बराबरीकै कारण उता शुक्रबार भएको खेलमा ब्राइटनलाई ४-१ले हराएर ६९ अंक जोडेको न्युक्यासलाई दुइ खेल बाँकी छँदै शीर्ष चारको स्थान पक्का हुन पुगेको छ ।
बाँकी दुबै खेल हारे पनि ६९ अंक बटुलिसकेको न्युक्यासलसित गोल अन्तर ३५ छ भने लिभरपुलसित २८ गोल अन्तर छ । अर्थात् ७ गोल अन्तरले लिभरपुल पछि छ ।
यो स्थितिमा न्यु क्यासलले दुबै खेल हार्नु र लिभरपुलले बाँकी यौटा खेलमा आठ गोल अन्तरको दुरी उछिन्नु कल्पना बाहिरको चमत्कार हुनेछ ।
