काठमाडौँ, ६ जेठ । तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ ।
तारकेश्वरद्वारा हिजो शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिनुभयो ।
“हामी निर्वाचित भएको आज एक वर्ष पूरा भएको छ, निर्वाचित भएसँगै बसेको कार्यपालिका बैठकले गरेको एक घर, एक धारा निर्णय कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा २० लाख लिटरका पानी ट्याङ्की निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार यसकाो लागि अँधेरी खोला र अल्ले खोलाको पानी तारकेश्वरमा ल्याइने छ ।
तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५ घरधुरीलाई एक घर, एक धाराअन्तर्गत खानेपानी योजना सुरु गरिसकेको छ ।
तारकेश्वरले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत एक हजार ८३ वटा योजना र ठेक्कामार्फत २६ वटा योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको नगरप्रमुख महर्जनको भनाइ छ । रासस
