भक्तपुर, २ जेठ । यहाँका दुईटा फर्निचर कारखानामा गत बैशाख ३१ गते आइतवार साँझ भएको आगलागीबाट दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको छ ।
आगलागीबाट तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट भएको थियो । नष्ट भएका सामानको अनुमानित मूल्य रु दुई करोड २९ लाख भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
आगो सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा लागेको थियो ।
प्रहरी परिसर भक्तपुरले सो आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण सङ्कलन गर्दै त्यसको मूल्याङ्कन गरी साँझ यो क्षति विवरण सार्वजनिक गरेको हो ।
सुरुमा न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा आइतवार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएको थियो । त्यहीँ आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत पुगेको थियो ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा राति साँढे १० बजे आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
