काठमाडौँ, २९ वैशाख । नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो ।
विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिनुभएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको थियो ।
विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर आज दिउँसो अत्येष्टि गरिने छ ।
बस्नेत गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष समेतको जिम्मेवारी र नेपाली काग्रेसको मुखपत्र नेपाल पुकारको सम्पादक मण्डलको सदस्य हुनुहुन्थ्यो ।
