अर्घाखाँची, २७  वैशाख । भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।

उनीहरु मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका थिए ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएकामा उपचारका लागि लैजाँदै गर्दा बाटो र उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी घाइते भएका तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पताल पुगेपछि मृत्युु भएको उपचारमा संलग्न स्थानीय विष्णु वेल्वासेले बताउनुभयो । साथै ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर