काडमाण्डौं, १८ बैशाख । एसीसी मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गतको नेपाल र युएईबीच भएको आज सोमबारको फाइनल खेल वर्षाका कारण बीचमै स्थगित भएको छ । अट्ठाइसौं ओभरको तेस्रो बलपछि खेल रोकिएको हो ।त्यसपछिको बाँकी खेल भोलि हुनेछ ।
आजको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको थियो । भोलि मंगलबार हुने स्पर्धा आज जुन अवस्थामा रोकिएको हो त्यहीबाट सुरु हुने जानकारी खेलका एम्पाएरले गराएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाएको छ ।
खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।
नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई /दुई विकेट लिए ।
त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक /एक विकेट रहयो ।
यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो ।
साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
