बेनी, २७ चैत । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।
विज्ञ केन्द्र र बेनी नगरपालिका १३/१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । यी भुरा जिल्लाका ४५ कृषकलाई वितरण गरिएको हो ।
मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुखले जानकारी दिनुभयो ।
भुरा नवलपरासीबाट खरिद गरिएको हो । व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन ।
म्याग्दी ल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ ।
