काठमाण्डौं, २४ चैत । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
सरकारको निर्णय अनुसार केही दिनअघि मात्र गृहमन्त्रलयले त्यस्ता बच्चाको जन्मदर्ता मावलीको थरमा गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले सरकारले जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर्नुपर्ने सो व्यवस्थाप्रति असहमति जनाउँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
बैठकमा सांसद विद्या भट्टराईले एकल महिलाबाट जन्मिएको बच्चाको मावलीको थरबाट जन्मदर्ता गर्ने विषय नेपालको संविधानअनुसारको प्रावधान विपरीत रहेको बताउनुभयो ।
सांसदद्वय सुशीला थिङ र सुशीला श्रेष्ठले पनि एकल महिलाबाट जन्मिएका बच्चाको मावलीको थर राख्ने प्रावधानप्रति असहमति प्रकट गर्दै यसमा आमाको थर भन्नुपर्ने माग गर्नुभयो ।
