मन्थली, २३ चैत । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताउनुभयो ।
स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।
स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो ।
चारको सनाखत
वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।
दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
