ब्राजिल, १८ चैत । राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक सङ्कट जेलिरहेका बेला ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्।
राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ।
सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारु बाध्य हुनुभएको थियो ।
कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ।
दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आउनुभएको छ ।
जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उहाँको तर्क रहिआएको छ।
कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर हल्ला बन्द गर्न पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका छन्।
ब्रजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ।
राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ।
बोल्सोनारुप्रति वफादार मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्ट सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा आएको हो।
चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको तत्कालीन विदेशमन्त्रीमाथि आरोप थियो।
विदेशमन्त्रीले राजीनामा दिएको केही समयपछि रक्षामन्त्रीले पनि सोमवारै राजीनामा दिएका थिए।
बीबीसीका ल्याटिन अमेरिका संवाददाता विल ग्रान्टका अनुसार सन् २०१९ को ज्यानुअरीमा बोल्सोनारुले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ।
