चितवन, १० चैत । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो ।
कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ ।
कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आइतबारदेखि लाइसेन्सको आवेदन फाराम खुल्छ।फाराम भर्ने समय एक साताको राखिने छ ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “आजै हामी युजरनेम र पासवर्ड कार्यालयमा पठाइदिन्छौँ, अरु काम उहाँहरुको हो ।”
कार्यालयका प्रमुख भुजेलले आइतबारदेखि फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ । क्रमशः यो सङ्ख्या बढाउँदै लगिने उहाँले जानकारी दिनुभयो ।
हाल यस कार्यालय भरतपुर विमानस्थल अगाडि रहेको छ । अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।
यो कार्यालयबाट सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुनेछ । त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन् । ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ एक किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षदेखि नै सेवा दिने तयारी गरे पनि ट्रायल सेन्टर सञ्चालनका विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो ।
अहिलेसम्म जिल्लावासी सवारी चालक अनुमतिपत्रका लागि हेटौँडा, वीरगञ्ज, कावासोती, काठमाडौँलगायतका ठाउँमा जान बाध्य रहेका छन् । सरकारको यो निर्णयसँगै यस भेगका वासिन्दा त्यो बाध्यताबाट मुक्त हुनेछन् । रासस
