-गोपालप्रसाद बराल
महोत्तरी, ८ चैत । बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ। चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरुमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमाकैदगर्न व्यस्त छन् ।
महोत्सव सुरु भएको छ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ महोत्सवमा आउने युवा तथा विद्यार्थीहरुघुमिरहेको चक्रबाट माटोका भाँडा बन्दै गरेको प्रक्रियालाई झनै चासोपूर्वक नियालिरहेको देखिन्छ ।
माटोका भाँडा बन्दै गरेको हेर्न लालायित भिडले खरिद गर्न भने खासै रुचि नदेखाएको कुम्हालको अनुभव छ । “यो हाम्रो पुख्र्यौली पेसा हो, हजुरबुबाहरुले यसैबाट जीविकोपार्जन गर्नुभयो”, रवीन्द्रले भन्नुभयो, “तर अब भने यसबाट व्यावसायिक लाभ लिन निकै गाह्रो छ ।” माटोका भाँडा बिक्री हुन छाडेपछि यी पसलमा भन्दा प्रदर्शनीमा सीमित हुन थालेकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।“चक्र घुमाएर भाँडा र खेलौना बनाएको हेर्दै रमाइलो मान्नेहरु धेरै छन्”, उहाँले सुनाउनुभयो, “तर यस्ता भाँडाको बिक्री भने निकै न्यून छ ।”
महोत्सवमा रवीन्द्रले माटोबाट बनेका अम्खोरा,चिया पिउने प्याला,खुत्रुके र ढकनालगायतका उत्पादन बिक्रीका लागि राख्नुभएको छ । तर यसबाट हुने आम्दानी ज्यादै न्यून रहेको उहाँको गुनासो छ ।उसो त महोत्सवमा मात्रै होइन हाटबजारमा पनि यस्ता भाँडा बिक्री हुन छाडिसकेको उहाँको अनुभव छ ।
कुनै समय मधेसको प्राचीन मिथिला क्षेत्रमा पानी राख्ने गाग्री(घैँटो, घैला), दही जमाउने छ्याँची, चामल/पीठोसहितका सर्दाम राख्न तौला र खाना पकाउने डेक्ची पनि माटाकै प्रयोग हुन्थे । तर आधुनिकतासँगै सिल्भर र प्लास्टिकका टिकाउ भाँडाको प्रयोग बढ्न थालेपछि कुम्हालको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ ।
“माटाका भाँडाको राखनधरन र उपयोग स्वस्थ्यकर हुन्छ”, बर्दिबासका स्वास्थ्यकर्मी राधेश्याम झा भन्नुहुन्छ, “माटाका भाँडाको महत्व थाहा नहुँदा र कम टिकाउन हुने कारणले यसको प्रयोग कम हुँदै गएको हो ।”
पछिल्लो समय अनिवार्य मानिएका धार्मिक अनुष्ठान र प्रयोजनबाहेक माटोका भाँडाको प्रयोग लगभग हराइसकेको छ । मिथिलामा चौरचन, दशैँ, दीपावली, छठ र सामा पर्वमा माटाका भाँडा र खेलौनाको प्रयोग अनिवार्यजस्तै छ । पितृकार्यमा पनि माटाका भाँडाको खोजी गरिन्छ । त्यसैले पर्वविशेष र अन्य खास अवसरमा दही जमाउने छ्याँची, ढकन, तौला, बत्ती बाल्ने दियौरी र सामाका खेलौना बिक्री हुने गरेका भङ्गाहा–५ भूचक्रपुरका काशिलाल पण्डितको भनाइ छ । रासस
