काठमाडौँ, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गर्नुभएको छ । भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्नुभयो ।
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गर्नुभएको थियो ।नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनु भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति पौडेल पुष्पलाल उद्यानमा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।
राष्ट्रपति पौडेललाई त्यहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गर्नुभएको थियो ।
माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको थियो । पुस्तिकामा उहाँले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गर्नुभएको छ । आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भएको थियो ।

