काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताउनुभयो ।
आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गर्नुभयो । उहाँले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेकामा प्रसन्नता व्यक्त गर्नुभयो ।
प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना शुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उहाँले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताउनुभयो ।
दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गर्नुभयो । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उहाँको भनाइ छ ।
भारतीय बजारमा मात्रै नभई, बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेको प्रधानमन्त्रीले दाहो¥याउनुभयो ।
अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु
प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताउनुभयो । विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताउनुभयो ।
निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो ।
मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन
पछिल्ला दिनमा मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताउनुभयो ।
मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताउनुभयो । केही दिन पहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोप लगाउनुभएको थियो ।
सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताउनुभयो ।
आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।
