काठमाण्डौं, १३ चैत । नेपाली काँग्रेसका नेता एवं भूतपूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । उहाँ ५७ वर्षको हुनुहुन्थ्यो ।
गत फागुन १३ गते राति मस्तिष्कघात भएपछि उहाँलाई पहिले वीर अस्पताल र त्यसपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।
उपचार गर्दागर्दै आज चैत १३ गते नर्भिक अस्पतालमा उहाँको निधन भएको अस्तालले जनाएको छ ।
चिकित्सकहरूका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो ।
विद्यार्थीकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय जोशी नेपाली काँग्रेसको अत्यन्तै शालिन र भद्र नेता हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
उहाँको उपचारको निम्ति सरकारले १० लाख रूपैंया सहयोग स्वरुप प्रदान गर्ने निर्णय गरेको थियो । सो रकम दिँदा उहाँको परिवारले नलिएर आफै उपाचार गराएको थियो ।
परिवारले त्यो रकम गरीव र उपचार गर्न असमर्थ अकिन्चन जनताको सहयोगमा खर्च गर्न अनुरोध गर्दै फिर्ता गरेको थियो ।
नर्भिकमा लगेपछि उहाँको मष्तिस्कको अप्रेसन गरिएको थियो र भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो । केही हप्तापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार भएर राम्रो पनि देखिएको थियो । स्वास आफैं फेर्न थाल्नुभएको थियो । भेन्टिलेटर हटाइएको थियो ।
तर पछि फेरि उहाँ कोमामा जानुभयो र पुन भेन्टिलेटरको सहयोगमा उपचार हुँदै थियो । तर त्यसपछि उहाँको स्वस्थ्यमा सुधार भएन र आज निधन भयो ।
