काठमाडौँ, ८ मङ्सिर । लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ ।
कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी हुनुभएको थियो । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ । —
मकवानपुरमा बर्तौला निर्वाचित
नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित हुनुभएको छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो । बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ । २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहनुभएकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान विजयी हुनुभएको छ भने २ को ‘२’ मा नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित हुनुभएको छ ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ । १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहनुभएको छ भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै हुनुहुन्छ । हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ । यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ । क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहनुभएका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ । –
पर्सा–३ बाट विजयी एमालेका गुप्ताको राजनीति यात्रा
नेकपा (एमाले) का नेता राजकुमार गुप्ता दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । विसं २०७० को दोस्रो संविधानसभाको सदस्य बन्नुभएका उहाँ यसपटक सङ्घीय संसद्, प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको छ ।
पर्सा जिल्लाको तत्कालीन भौराटार ६ मा विसं २०२७ मा जन्मिनुभएका गुप्ताले २४ हजार दुई सय ६० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक सय ५१ मतान्तर रहेको छ । बुवा हिरालाल प्रसाद र आमा शान्ति देवीको कोखबाट जन्मिनुभएका गुप्ताले २०४२ देखि अखिलबाट राजनीति सुरू गर्नुभएको हो । उहाँ २०५१ सालमा युवा सङ्घमा आबद्ध हुँदै, एमालेको जिल्ला सदस्य, २०६६ सालमा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष बन्नुभएको थियो ।
राजनीतिसँगै व्यापारलाई अघि बढाउनुभएका गुप्ता लोकतान्त्रिक मधेसी सङ्गठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । उहाँ २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपनि हुँदा २०७४ मा पराजित हुनुभएको थियो । ०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए ।
—
