पोल्याण्ड, ३० काक्तिक । पोल्यान्डमा युक्रेनको सीमा नजिकै क्षेप्यास्त्र खस्दा दुई जना मारिएको विवरणहरू सार्वजनिक भएका छन्। पोलिश सञ्चारमाध्यम र एपी समाचार संस्थाले उक्त घटनामा रुसी क्षेप्यास्त्र प्रहार भएको जनाएका छन्। यद्यपि आधिकारिक रूपमा त्यो पुष्टि भएको छैन।

रुसको रक्षा मन्त्रालयले उक्त दाबीको खण्डन गर्दै त्यो उत्तेजना बढाउन जानाजान गरिएको कार्य भएको बताएको छ।

अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूले घटनाको यथार्थबारे आफूहरूले अनुसन्धान गरिरहेको जनाएका छन्।

घटनापश्चात् पोल्यान्डको राष्ट्रिय सुरक्षा ब्युरोको आकस्मिक बैठक बसेको थियो। जसपश्चात् उसले आफूहरूसँग घटनामा को संलग्न छ भन्नेबारे “यकिन तथ्याङ्क” नभएको बताएको छ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोल्यान्डका राष्ट्रपति आन्जे डुडाले ”कसले क्षेप्यास्त्र प्रहार गर्‍यो भन्नेबारे हामीसँग ठोस प्रमाण छैन। तर उक्त क्षेप्यास्त्र रुस निर्मित हो भन्ने सम्भावना अधिक छ। यद्यपि, यो घटना अझै अनुसन्धानको विषय हो।” भन्नुभएको छ ।

साथै पोल्यान्डका प्रधानमन्त्री मतेउस मोराविएत्स्कीले सर्वसाधारणलाई शान्त रहन अपिल गर्नुभएको छ ।

“म सबै पोलिशहरूलाई दुःखको यस घडीमा शान्त रहन आग्रह गर्दछु। हामीले संयम र सावधानी अपनाउनु पर्छ,” उहाँले वार्सामा भएको आकस्मिक सरकारी बैठक पश्चात् भन्नुभयो ।

उक्त घटना लगत्तै पोल्यान्डले आफ्नो हवाई निगरानी पनि बढाउने उहाँको भनाइ छ।

पोल्यान्डमा क्षेप्यास्त्र खस्नुको प्रतिक्रिया स्वरूप जी सेभेन समूहका राष्ट्र प्रमुखहरूले बुधवार एक आकस्मिक बैठक बस्ने तयारी गरिरहेको एक जापानी सञ्चार माध्यमले जनाएको छ।

त्यसैले उक्त दिन तय भएको जापानी तथा ब्रिटिश नेताहरूबीचको बैठक स्थगित गरिएको छ।

जी सेभेन समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिका छन्।

रुसी सञ्चार माध्यमहरूले पोलिश क्षेत्रमा भएको क्षेप्यास्त्र हमलामा रुसको नभई युक्रेनको भूमिका रहेको सङ्केत गरिरहेका छन्। यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन।

रुसी समाचार संस्था रिया नोभोस्तीले एक जना रुसी “सैन्यविद्”लाई उद्धृत रुसी लामो दूरीका क्षेप्यास्त्रहरू “पोल्यान्डको क्षेत्रसम्म पुग्न नसक्ने तर युक्रेनी एस ३०० क्षेप्यास्त्र प्रणाली अनियन्त्रित भई पुग्न सक्ने” दाबी उल्लेख गरेको छ।

कयौँ क्रेमलिन निकट टेलिग्राम च्यानलहरूले पनि उस्तै दाबी गरिरहेका छन्।
युक्रेनले पोल्यान्डमा खसेको क्षेप्यास्त्र आफ्नो भएको सम्पूर्ण आरोपहरूको खण्डन गर्दै त्यसलाई “षडयन्त्र सिद्धान्त”को सङ्ज्ञा दिएको छ। साथै यस्ता आरोपहरू “रुसी प्रोपगान्डा”को अंश भएको समेत जनाएको छ।

युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले ट्विटरमा लैख्नुभएको छ , रुसले अहिले पोल्यान्डको क्षेत्रमा खसेको क्षेप्यास्त्र युक्रेनको हो भन्ने आरोप फैलाउँदै छ जुन वास्तवमा सही होइन। कसैले पनि रुसको यस्ता षडयन्त्र पत्याउनु हुँदैन र उसका आरोपहरूलाई बढावा दिनु हुँदैन।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियोजित रूपमा नेटो सदस्य राष्ट्र पोल्यान्डमा आक्रमण गरेको आरोप लगाउनुभयो ।

यो रुसले गरेको सङ्गठित सुरक्षा प्रणाली विरुद्धको आक्रमण हो, उहाँले भन्नुभयो , यो घटनाक्रमको निकै महत्त्वपूर्ण उतारचढाव हो। हामीले यस विरुद्ध कदम चाल्नै पर्छ।

आतङ्क हाम्रो राष्ट्रिय सीमासम्म मात्र सीमित रहेन, उहाँले थप्नुभयो, रुसी आतङ्कले जुनसुकै बेला सीमा नाघ्न सक्छ।

यसअघि रुसले मङ्गलवार युक्रेन विरुद्ध आफूसँग भएको सबैभन्दा ठूलोमध्ये एक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।

उक्त प्रहारका कारण सबैभन्दा प्रभावितमध्ये एक राजधानी किएभ थियो। अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा एक जना मानिस मृत भेटिएका थिए।

बीबीसीका राजनीतिक सम्पादक क्रिस मेसनका अनुसार बालीमा जारी जी ट्वाइन्टी सम्मेलनमा पोल्यान्डमा भएको घटनाले सबै पूर्व निर्धारित योजनाहरूमा प्रभाव परेको छ।

सदस्य राष्ट्रका नेताहरू आफ्ना रक्षा तथा परराष्ट्र मन्त्रीहरूसँग टेलिफोन वार्ता गरिरहेका छन्। साथै उनीहरू पोल्यान्डसँग पनि संवादमा छन्।

वार्सासँग सम्पर्क गर्नेमा अमेरिकी राष्ट्रपति जो बाइडन र युकेका प्रधानमन्त्री ऋषि सुनक पनि हुनुहुन्छ ।

यसका अतिरिक्त बाइडनले नेटोका सचिव येन्स स्टोल्टेनबेर्गसँग पनि कुरा गर्नुभयो ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर