इन्डोनेशिया, २९ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको मैत्रीपूर्ण भेटपछि चीनसँग कुनै ‘नयाँ शीतयुद्ध’ नगर्ने वाचा गर्नुभएकोे छ ।
उहाँले चीनले ताइवानमाथि आक्रमण गर्ने कुरामा आफूलाई विश्वास नभएको समेत बताउनुभयो ।
बाइडनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरूबिच भएको यो पहिलो भेटघाट हो।
इन्डोनेशियाको एक टापुमा जी ट्वाइन्टी शिखर सम्मेलन सुरु हुनुभन्दा एक दिनअघि बालीमा भएको भेटवार्तामा यी दुई शीर्ष नेताहरूले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गर्नुभएको थियो ।
एक होटलमा भएको तीन घण्टा लामो भेटमा दुई नेताले ताइवानलगायत विभिन्न विषयमा छलफल गर्नुभएको थियो ।
बेइजिङद्वारा आफ्नो भूभाग दाबी गरिएको उक्त स्वशासित टापु राष्ट्रले अमेरिकालाई आफ्नो सहयोगी ठान्छ। र, यो राष्ट्र सधैँ अमेरिका चीन सम्बन्धमा एउटा विवादको विषय बनेको छ।
गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि तनाव चुलिएको थियो। उनी त्यहाँ गएपछि चीनले प्रतिक्रिया स्वरूप ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो जसले अमेरिका र चीनबिच सम्भावित द्वन्द्वको चिन्ता बढाएको थियो।
सोमवार चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिन्पिङले “ताइवान चीनको चासोको विषय र अमेरिका चीन सम्बन्धको पहिलो रेड लाइन भएको बताउनुभयो र त्यसलाई नाघ्न नहुने” चेतावनी दिनुभयो ।
पछिल्ला साताहरूमा अमेरिकी अधिकारीहरूले चीनले ताइवानमाथि आक्रमण गर्ने योजना बढाउन सक्ने चेतावनी दिँदै आएका छन्।
सोमबार पत्रकारहरूले बाइडन समक्ष उक्त चेतावनीमाथि उहाँको विश्वास र नयाँ शीतयुद्धबारे प्रश्न सोधेका थिए।
मलाई लाग्छ कि नयाँ शीतयुद्ध हुन आवश्यक छैन। मैले सी जिन्पिङसँग धेरै पटक भेटेको छु र हामी एक अर्काबारे स्पष्ट छौँ। मलाई निकट भविष्यमा चीनको तर्फबाट ताइवानमा आक्रमण हुन्छ भन्ने कुरामा विश्वास छैन, उहाँले भनुभयो, म के स्पष्ट पार्न चाहन्छु भने, हामी यस क्रस स्ट्रेट समस्याहरू शान्तिपूर्ण ढङ्गमा समाधान भएको हेर्न चाहन्छौँ। त्यसो भएको खण्डमा आक्रमणमा त कहिल्यै पुग्नै पर्दैन। मैले हामीले एकअर्काको कुरा बुझेको ठानेको छु।
बाइडनले आफूहरू समस्याको समाधान गर्नका निम्ति सरकारका प्रमुख अधिकारीहरू वार्ता गर्नेगरी एउटा संयन्त्र स्थापना गर्न सहमत भएको बताउनुभएको छ । त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि चाँडै चीन भ्रमण गर्ने जानकारी उहाँले दिनुभयो ।
उहाँले आफूले सीलाई ताइवानको बारेमा अमेरिकाको नीतिमा कुनै परिवर्तन नभएको प्रस्ट पारेको समेत बताउनुभयो ।
बाइडनले पटकपटक ताइवानमाथि चीनले आक्रमण गरे अमेरिकाले उसको रक्षा गर्ने बताउनुभएको छ ।यसलाई लामो समयदेखि ताइवानबारे अमेरिकी रणनीतिक दुबिधाको अन्त्यको रूपमा लिइएको छ जस अन्तर्गत यो टापु राष्ट्रको रक्षा गर्न अमेरिका औपचारिक रूपमा प्रतिबद्ध छैन।
बेइजिङसँगको सम्बन्धको आधार एक चीन नीति हो जसअन्तर्गत वासिङ्टनले बेइजिङस्थित एक मात्र चिनियाँ सरकारलाई मान्यता दिन्छ जसको ताइवानसँग कुनै औपचारिक सम्बन्ध छैन।
साथै यसले ताइवानसँग पनि निकट सम्बन्ध कायम राख्छ। उक्त टापु राष्ट्रलाई प्रतिरक्षाको लागि आवश्यक सामग्री उपलब्ध गराउनु पर्ने विषय उल्लेखित ताइवान सम्बन्ध ऐन अन्तर्गत अमेरिकाले अस्त्रहरू बिक्री समेत गर्छ।
सी र बाइडनको छलफलमा उत्तर कोरिया र युक्रेनमाथि रुसी आक्रमणको बारेमा चिन्ताहरू पनि समेटिएको विवरण दिइएको छ।
बाइडनले सिनजियाङ, हङकङ र तिब्बतमा उइगरहरूमाथि हुने व्यवहारलगायत विषय उल्लेख गर्दै चीनमा मानवअधिकारका मुद्दाहरूबारे पनि चिन्ता व्यक्त गर्नुभयो ।
दुवै नेताहरूले विश्वव्यापी स्थिरता उहाँहरूको नेतृत्वमा रहेको दुई देशहरूबिचको सम्बन्धमा निर्भर रहेको सङ्केत गर्नुभयो ।
हालैका दिनहरूमा बाइडन र अमेरिकी अधिकारीहरू चीनसँग मेलमिलापको उद्देश्य प्रस्ट्याउन सङ्घर्षरत छन्। कडा प्रतिस्पर्धाको भावनाबिच अमेरिकाले चीनसँग द्वन्द्व नचाहेको कुरामा उहाँहरूले पटक पटक जोड दिँदै आउनुभएको छ ।
सीले पनि बाइडन समान धारणा राख्नुभयो । उहाँले छलफलको सुरुवातमा हामीले चीन अमेरिका सम्बन्धबारे सही मार्गचित्र बनाउन आवश्यक छ भन्नुभयो ।
सीले चीन अमेरिका सम्बन्ध शून्य समीकरणको खेल हुन नहुने भन्दै एकले प्रगति गर्दा अर्कोले दुर्गति भोग्न नपरोस्। यो वृहत् पृथ्वी अमेरिका र चीन दुवैको विकास र उन्नति बहन गर्न पूर्ण रूपमा सक्षम छ भन्नुभयो ।
अस्ट्रेलियन न्याशनल युनिभर्सिटीको ताइवान अध्ययन कार्यक्रमका अध्यापक वेन ती सङले बाली भेटवार्तामा केही ठोस सम्झौताहरू भएको उल्लेख गर्नुभयो ।
उहाँले दुवै नेताले जित हासिल गरेको विचार राख्नुभयो ।
सीले उहाँ बाइडनसँग आफू नडराएको र अमेरिका र चीन बराबर छ भन्ने देखाउनुभयो । बीबीसी
