काडमाण्डौं, २४ कात्तिक ।  इंग्ल्यान्ड २०२२ को टी-२० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहीबार भएको खेलमा भारतलाई १० विकेटको जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।

खेल आयोजक राष्ट्र अस्ट्रेलियको एडिलेडमा भएको थियो ।

अब आइतबार अस्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा इंग्ल्यान्ड र पाकिस्तान ट्रफीका लागि सामना गर्नेछन् ।

हिजो बुधबार भएको खेलमा पाकिस्तान न्युजलायाण्डलाई ७ विकेटले हराउँदै फाइनालमा पुगिसकेको छ ।

सन् २०१० को च्याम्पियन इंग्ल्यान्ड टी-२० विश्वकपको फाइनल पुगेको यो तेस्रोपल्ट हो । आजको खेलमा पहिले ब्याटिङ गरेको भारतले १ सय ६९ रनको ठीकै खाले लक्ष्य प्रस्तुत गरेको थियो । तर इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याटिङ जोडी जस बटलर र एलेक्स हेल्सले उत्कृष्ट प्रदर्शन गरेर  आफ्नो देशलाई जिताए । यी दुईले टी-२० विश्वकपकै सबैभन्दा ठूलो साझेदारी गरे ।

इंग्ल्यान्डले टस जितेर बलिङ रोजेको थियो ।

इंग्ल्यान्डले बिना कुनै विकेटको क्षति १६ ओभरमा १ सय ७० रन बनाएको थियो । उसका लागि जस बटलरले ४९ बलमा ८० रन बनाए । उनले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै एलेक्स हेल्सले ४७ बलमा ८६ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरे ।

पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । त्यसका लागि विराट कोहली र हार्दिक पान्ड्याले अर्धशतक बनाए । कोहलीले ४० बलमा ५० रन र पान्ड्याले ३३ बलमा ६३ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर