काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड जानुभएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपतिको भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी,परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
–––
