गोरखा, २९ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताउनुभयो ।

“प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयाँै, त्यो आउनु पनि पथ्र्याे”, उहाँले भन्नुभयो, “त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइकन देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।”

उहाँले विकास समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्व दिएको विषय भएकोसमेत उल्लेख गर्नुभयो । “यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला”, उहाँले भन्नुभयो, “कतिपयले कम्युनिष्ट समाजवादी र कांग्रेस माओवादीविपरीत धु्रव चुनावी स्वार्थका लागि आए भन्नेछ त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन्, तर सबैभन्दा पवित्र गठबन्धन यही हो ।”

अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेकोसमेत बताउनुभयो ।

“मैले गोरखामा टिकट नपाउने भन्ने पनि होइन, मैले हस्तान्तरण गर्न चाहेको थिएँ, त्यो पूरा भएको छ”, उहाँले भन्नुभयो, “प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन तर इतिहास निर्माणका लागि उहाँ गोरखाबाट चुनाव लड्न आउनुभएको हो ।”

“राणा शासनकाविरुद्ध लड्दादेखि राजासँग लड्दासम्म इतिहास निर्माणको थलो गोरखा थियो”, उहाँले भन्नुभयो, “अब फेरि एकपटक समृद्धीकरण मोडल पनि गोरखा बन्नसक्छ ।”

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताउनुभएको छ । गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

“यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन”, अध्यक्ष दाहालले भन्नुभयो, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।” उहाँले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताउनुभयो । “पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो”, उहाँले भन्नुभयो, “अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर