काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौंदा प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा प्रारम्भिक मस्यौंदा उपसमितिका तर्फबाट डा. स्वर्णिम वाग्लेले मस्यौंदाको थप व्याख्या गर्नुभएको थियो भने बैठकमा प्रारम्भिक मस्यौंदा समितिका सदस्यहरूको पनि आमन्त्रित रुपमा सहभागिता थियो ।
उपत्यका बाहिर रहनुभएका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले यही असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउनु हुने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ ।आर्थिक सुशासन र युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिने निर्णय भएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महत, अर्जुननरसिंह के.सी, प्रवक्ता डा. प्रकाशशरण महत, उमा रेग्मी र जीपछिरिङ लामाले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
