काठमाण्डौ, २२ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा परित्याग गर्नुभएको छ ।भुसालले आज शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
उहाँले रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि सो घोषणा गर्नुभएको हो ।
उक्त निर्वाचन क्षेत्रबाट उहाँले स्वतन्त्र उम्मेदवार दिने घोषण गर्नुभए पनि माओवादीले उहाँको लागि ठाउँ छाडिदिने बुझिएको छ।
विज्ञप्ति अनुसार उहाँले एमालेमा केपी शर्मा ओलीलेको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै सो पार्टीमा नरहने बताउनु भएको छ ।
पार्टीले भुसाललाई रूपन्देही १ र ३ मा उम्मेदवार वनाउन सिफारिस गरेको थियो । तर त्यस पार्टीका शक्तिमान अध्यक्ष केपी ओलीले उहाँलाई टिकट दिनुभएन ।
त्यसैगरी एमालेका अर्का प्रभावशाली नेता भीम रावललाई पनि ओलीले टिकट दिनुभएको छैन । पार्टीले उहाँलाई अछाम १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको थियो ।
एमाले पार्टीभित्र अध्यक्ष ओलीको विरोधीको रूपमा चर्चित यी नेता द्वय रावल र भुसाल पार्टीको गत महाधिवेशनमा अध्यक्ष र उपाध्यक्षमा चुनाव लड्नु भएको थियो। रावलले भने अहिलेसम्म केही निर्णय गरिसक्नु भएको छैन । उहाँले एक दुइ दिनमै व्यवस्थित निर्णय लिने बताउनु भएको छ ।
भुसालको विज्ञप्ति
देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ। यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्यायो।
नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो। तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती ग¥यो। त्यसपछि पार्टी संस्थागत रुपले गुटबन्दीको मैदान बन्दै गयो।
आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो। र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ।
नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।
नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति सदा मेरो ऐक्यबद्धता रहनेछ। राष्ट्रको सर्वोपरि हितका लागि म उत्तिकै सक्रिय रहने छु। कमरेडहरू १ सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौँ।
घनश्याम भूसाल
मणिग्राम, रुपन्देही
२०७९ असोज २२
