काठमाण्डौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको बताउनु भएको छ ।
उहाँले सो कुरा आठौँ संविधान दिवस अवसरमा शुभकामना व्यक्त गर्दै आज बताउनु भएको हो ।
उहाँका अनुसार संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै सबै नेपालीलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले शुभकामना मन्तव्यमा भन्नुभएको छ : कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि हो ।
प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ : “सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ।” ।
प्रधानमन्त्री देउवाको विश्वास छ : संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुनेछ ।
