काठमाडौ, २३ भदौ । नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको भन्दै सो आरोपका सम्वन्धमा कानुनी उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।
क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार सन्दीपसँग क्यानले सम्पर्क गरेको र उनले सहयोग मागेको स्विकार गर्नुभएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपको विषय अहिले अनुसन्धानको क्रममा रहेकाले सो विषयमा क्यानले तत्काल केही गर्ने छैन । तर उनले अनुशासन नै तोडेको हो भने कानुनी कारबाही हुनुपर्छ ।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी २० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।
लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ। सन्दीपलाई एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन्।
