काठमाडौ, १५ भदौ । शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ।
उहाँ लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ।
तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत सङ्घलाई खुला गर्ने नीति अँगाल्नु भयो तर त्यसको विघटन रोक्न भने सक्नुभएन ।
उहाँ सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहनुभयो ।
उहाँको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति दिलायो।
सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले यस्ता शृङ्खलाबद्ध घटनाक्रम निम्त्यायो कि त्यसले अन्ततः सोभियत सङ्घकै विघटनसम्म पुर्यायो। साथसाथै शीतयुद्धको पनि अन्त गर्न त्यसले मद्दत गर्यो।
कतिपय रुसीहरूले सोभियत सङ्घको विघटनका कारण गोर्बाचोफलाई कहिल्यै माफी दिएनन्।
गोर्बाचोफ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्घका नेता बन्नुभएको थियो ।
त्यतिखेर शक्तिशाली पोलिटब्युरोका उहाँ सबभन्दा कान्छा सदस्य हुनुहुन्थ्यो ।
उहाँका पूर्ववर्ती कन्स्टान्टीन चेर्नेन्को एक वर्ष अगाडि ७३ वर्षको उमेरमा विताउनु भएको थियो ।
अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोफले अमेरिकासँग अस्त्र नियन्त्रणका सहमतिहरू गर्नुभएको थियो भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध उत्रँदा उहाँले हस्तक्षेप गर्न अस्वीकार गर्नुभएको थियो ।
पश्चिमा जगतमा उहाँलाई सुधारका प्रणेता मानिन्छ जसले सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने शर्त निर्माण गर्नुभयो ।
सन् १९९० मा उहाँलाई पूर्व पश्चिम सम्बन्धमा ठूलो फेरबदल ल्याउन भूमिका खेलेकोमा नोबेल शान्ति पुरस्कार दिइएको थियो।
तर सन् १९९१ पछि उदाएको नयाँ रुसमा भने उहाँ राजनीतिको किनारामा पुग्नुभयो । त्यसपछि उहाँको ध्यान शिक्षा तथा मानवीय कार्यहरूमा गयो।
सन् १९९६ मा उहाँले एकपटक फेरि राजनीतिक जीवनमा फर्कने विफल प्रयास गर्नुभएको थियो । त्यतिखेरको राष्ट्रपति निर्वाचनमा उहाँले केवल ०.५५ मत मात्र प्राप्त गर्नुभयो ।
अमेरिकाका प्रतिष्ठित कूटनीतिज्ञ हेनरी किसिन्जरले बीबीसीको न्यूजनाइट कार्यक्रमसँग बोल्दै गोर्बाचोफलाई मानवजाति र रुसी जनताको फाइदा हुने गरि भएका ऐतिहासिक परिवर्तन सुरु गरेको व्यक्तिको रूपमा इतिहासले स्मरण गर्ने बताउनुभयो ।
गोर्बाचोफको निधनप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना व्यक्त गरेको क्रेम्लिनका प्रवक्ताले जनाएका छन्।
सोभियत सङ्घ विघटनताका अमेरिकी विदेशमन्त्रीको पदमा रहेका जेम्स बेकरले गोर्बाचोफलाई इतिहासले आफ्नो देशलाई प्रजातन्त्रतर्फ डोर्याएका महान नेताको रूपमा सम्झने बताउनुभएको छ ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले गोर्बाचोफलाई युरोपेली शान्तिप्रति प्रतिबद्ध व्यक्ति भन्दै उहाँका कार्यले युरोपको साझा इतिहासनै मोडिएको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले गोर्बाचोफलाई विरलकोटीका राजनेता अनि शान्तिको हरदम वकालत गर्ने व्यक्तिको संज्ञा दिनुभएको छ ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचोफको साहस र इमानको आफू प्रशंसक भएको बताउनुभयो ।
अहिले युक्रेनमा पुटिनको अतिक्रमणको समयमा गोर्बाचोफले सोभियत समाजलाई खुला गर्न देखाएको दह्रो कटिबद्धता हामी सबैका निम्ति उदाहरणीय छ, जोन्सनले भन्नुभयो ।बीबीसी
