काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको हिजो शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उहाँका सहयोगी मन्दिप भारतीले जानकारी दिनुभयो ।
उहाँको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरिको निधन भएको जानकारी दिनुभयो ।
विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरिको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो ।
समाजवादी चिन्तक नेता गिरि नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक हुनुहुन्थ्यो । नेता गिरि २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो ।
उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो ।
नेता गिरिको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरिको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारको क्रममा आज राती ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै कांग्रेस संसदीय दलले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
नेता गिरिप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर आज आइतबार (भदौ ५ गते) बिहान ९ः०० बजे देखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने सो शोक विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी श्रद्धाञ्जलिको लागि बिहान ११ः३० बजेदेखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, सानेपामा उहाँको पार्थिव शरीर राखिने र तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।
विसं २००४ सालमा सिरहामा जन्मनुभएका समाजवादी चिन्तक गिरि २०२१ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।
