
काठमाडौँ, ३ चैत । कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण भएको छ । रङरोगन र बत्ती हाल्ने काम भइरहेको मन्दिर क्षेत्र प्राचीनकालदेखि नै कोलमतेश्वर महादेवका नामले प्रसिद्ध थियो । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गर्नुभएको थियो । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक ग्रन्थमा गरिएको छ ।
ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रूपधारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको । ह्यग्रीव रूपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गर्नुभएको सन्दर्भ श्रीमद्भागवतको द्वितीय स्कन्ध सात अध्यायको ११औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको लक्ष्मी ह्यग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । ह्यग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी वर मागेकाले भगवान् विष्णुले ह्यग्रीव रूपधारण गर्नुभएको हो । भगवान् ह्यग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ ।
स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उहाँले भन्नुभयो ।
कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।
यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो । नेपाल माहात्म्यको ३२औँ अध्यायको २८, २९ र ३०औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् ह्यग्रीव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।