काठमाणडौं, २५ साउन । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ ।विभिन्न १४ बुँदे माग राख्दै आन्दोलन गरेको नेपाल विद्यार्थी संघले माग पूरा नभएपछि गत बैशाख १९ गते सो विश्वविद्यालयमा ताला लगाएको थियो ।
यही साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।
आदालतको आदेश पालना गर्दै नेपाल संस्कृत विश्वविद्यालयको नेवि संघ संघर्ष समितिले आज बुधवार ताला खोलेको हो ।
यसअघि विश्वविद्यालयमा ताला लगाएको एक महिना पछि जेठ २९ गते विश्वविद्यालयका तर्फबाट गठित वार्ता समिति र आन्दोलनरत विद्यार्थी संगठन बीचमा वार्ता भएर ११ बुँदे सहमति भएको थियो ।
तर नेविसंघले सबै माग पूरा हुनु पर्ने भन्दै ताला खोल्न दिएको थिएन ।
बुधबार ताला खोलिएसँगै विश्वविद्यालयको पठाइ र अन्य सबै काम चालू भएको छ ।
विद्यार्थीहरूले विश्वविद्यालयको दिक्षान्त समारोह तीन महिनाभित्र हुनेपर्ने, विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रावृति दुई सय प्रतिशतले वृद्धि गर्नुपर्ने, आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका थिए ।
ती मध्ये अधिकांश माग पूरा गर्न विश्वविद्यालय सहमत भएको छ ।
