काठमाडौ, २५ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्राइमियाको स्वतन्त्रतापछि मात्रै रुस युक्रेन युद्ध सकिने बताउनुभएको छ ।

क्राइमियाको एक रुसी सैन्य अखडामा विस्फोटहरू भए लगत्तै जेलेन्स्कीको यस्तो भनाइ आएको हो।

आफ्नो रात्रिकालीन भिडिओ सम्बोधन क्राइमियाबारे केन्द्रित गरे पनि उहाँले विस्फोटबारे केही उल्लेख गर्नुभएन ।

क्राइमिया युक्रेन हो। हामी यसलाई त्याग्न सक्दैनौँ, जेलेन्स्कीले भन्नुभयो ।

युद्ध क्राइमियाबाटै सुरु भयो र अब यसको स्वतन्त्रतासँगै अन्त्य हुनुपर्छ, उहाँले युद्धको समाप्तिअघि क्राइमिया पनि युक्रेनले फिर्ता लिनुपर्नेमा जोड दिँनुभयो ।

यसअघि क्राइमियाको एक सैन्य अखडामा भएका विस्फोटहरूमा एक जनाको मृत्यु भएको उक्त क्षेत्रमा रुसले नियुक्त गरेका प्रशासन प्रमुखले बताएका छन्।

उक्त टापुको पश्चिमी तटमा रहेको सैन्य अखडामा विस्फोट भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा फैलिएका भिडिओहरूमा धेरै वटा विस्फोट भएका देखिन्छन्।

घटनापछि रुसको रक्षा मन्त्रालयले गोलाबारुद विस्फोट भएको बताए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

रुसको सरकारी समाचार संस्था रियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विस्फोटबाट गोलाबारुद भण्डारमा आगजनी नभएको उल्लेख गरेको छ।

मस्कोले सन् २०१४ मा युक्रेनबाट टुक्राएको द्वीप रुसीहरूका लागि लोकप्रिय पर्यटकीय गन्तव्य हो।

सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा पनि समुन्द्रको तटमा रहेका पर्यटकहरू नजिकै धुवाँ उठेपछि भागिरहेको देखिन्छ।

स्थानीय प्रत्यक्षदर्शीहरूले रोएटर्स समाचार संस्थालाई आफूहरूले कम्तीमा १२ वटा विस्फोटको आवाज सुनेको बताएका छन्।

विस्फोट भएको क्षेत्रमा पाँच किलोमिटर आसपाससम्म प्रवेश निषेध गरिएको छ।

स्थानीय एक टेलिभिजनसँग कुरा गर्दै युक्रेन राष्ट्रपतिका एक जना सल्लाहकारले विस्फोटमा किएभको संलग्नता नरहेको बताएका छन्।

यसअघि युक्रेनको सेनाले मस्कभा युद्ध पोत डुबेको घटना र अन्य सैन्य क्षतिमा रुसको अग्नि सुरक्षाप्रति व्यङ्ग्य गर्दै आफ्नो फेसबुकमा पोस्ट गरेको थियो।

रुसले सन् २०१४ मा जनमत सङ्ग्रह मार्फत क्राइमिया आफ्नो देशमा गाभेको थियो। यसलाई अन्तर्राष्ट्रिय समुदायले अवैधानिक भनेको थियो। उक्त टापुका रणनीतिक स्थानहरूमा रुसी सेना परिचालन गरेपछि हतारमा जनमत सङ्ग्रह आह्वान गरिएको थियो।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर