मनिला, ११ साउन। फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ । ६० जना भन्दा धेरै घाइते भएका छन् ।अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७।१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर स्थानीय समयानुसार बिहान ८ बजेपछि आएको भूकम्पले भवनहरू भत्किएका छन् भने ठाउँठाउँमा पहिरो गएको छ।
भूकम्पको धक्का ३०० किलोमिटर दक्षिणमा अवस्थित राजधानी मनिलासम्म महसुस भएको विवरणहरू आएका छन्। भूकम्पपछि संसद् भवनबाट केही व्यक्तिहरूलाई उद्धार गरिएको थियो।
क्षतिको विवरण आइनसकेपनि ठूलो धक्का भएकाले धेरै क्षति भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचनाहरु भत्किएका छन् ।
भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध भएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको छ ।
राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ ।
राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको पनि उहाँको सचिवालयले जनाएको छ ।
