काठमाडौ, ८ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण भएपछि रुसमाथि बर्बरता गरेको आरोप लगाउनुभएको छ ।

युक्रेनको अन्न निर्यात सम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको केही घण्टामै क्षेप्यास्त्र आक्रमण भएपछि उक्त सम्झौता अलपत्र परेको छ।

मस्कोले उक्त आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। किएभले सम्झौता उल्लङ्घन गरिएको भए पनि अन्न निर्यात जारी राख्ने तयारी गरेको जनाएको छ।

शनिवार राष्ट्रपति जेलेन्स्कीले उक्त घटनाले सम्झौता परिपालन नगर्ने चित्रण गरेको भन्दै मस्कोमाथि विश्वास गर्न नसकिने बताउनुभएको थियो ।

उहाँले भविष्यमा हुने यस्ता क्षेप्यास्त्र आक्रमणलाई जसरी भए पनि निष्फल बनाउन हवाई प्रतिरक्षा प्रणाली विकास गर्न हर सम्भव प्रयास गर्ने जनाउनुभयो ।

युक्रेन प्रमुख अन्न निर्यातकर्ता हो तर युद्धका कारण २ करोड टन अन्न उसका बन्दरगाहहरूमा फसिरहेको छ र रुसी फौजका कारण निर्यात हुन सकिरहेको छैन।

त्यसले गर्दा खासगरी युक्रेन र रुसमाथि गहुँका लागि निर्भर अफ्रिकामा उच्च मूल्यवृद्धि भएको छ।

शुक्रवार भएको सम्झौता अनुसार अन्न निर्यात गर्ने बेलामा रुसले बन्दरगाहहरूलाई निशाना नबनाउने सहमति भएको थियो।

तर सम्झौतामा हस्ताक्षर भएको केही घण्टामै दुई वटा कालिबर क्षेप्यास्त्र ओडेसा बन्दरगाहमा खसेको युक्रेनी सेनाको दक्षिणी कमान्ड केन्द्रले जनाएको छ। सेनाले थप दुई वटा क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीले खसालेर निष्फल तुल्याइदिएको बताएको छ।

आक्रमणले ठूलो क्षति नपुर्‍याएको पनि सेनाले जनाएको छ। उक्त आक्रमणको चौतर्फी आलोचना भएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले रुसले विश्वव्यापी खाद्य सङ्कट झन् खराब बनाएको भन्दै रुसको सन्धि प्रतिबद्धताप्रति गम्भीर अविश्वास पैदा भएको बताउनुभएको छ ।

उहाँले शनिवार भन्नुभयो, रुसले उसको आक्रमण बन्द गरेर अन्न निर्यात सम्झौता कार्यान्वयन गर्नुपर्छ।

क्रेमलिनले आक्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएको छैन तर उक्त सम्झौता गर्न मध्यस्थताको भूमिका खेलेको टर्कीका रक्षामन्त्री हुलुसी आकरका अनुसार रुसले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ।

अर्को घटनाक्रममा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनले रुसलाई जित्न नसक्ने बताउनुभएकको छ ।

कन्जरभेटिभहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मस्को र वाशिङटनबीच शान्ति वार्ता गरेर मात्र युद्ध अन्त्य हुने उहाँले बताउनुभयो ।

अधिकांशतः द्वन्द्वबारे अरू युरोपेली नेताभन्दा फरक धारणा राख्दै आएका ओर्बानले भन्नुभयो , युद्ध जित्ने रणनीतिभन्दा फरक रूपमा शान्ति वार्तामा केन्द्रित भएर समाधान खोज्नुपर्छ।

शुक्रवार किएभ र मस्कोबीच भएको सम्झौतामा बन्दरगाहहरूमा फसेको करोडौँ टन खाद्यान्न निर्यात सम्बन्धी सम्झौता भएपछि संयुक्त राष्ट्र सङ्घले त्यसलाई आशाको किरण भनेको थियो।

उक्त सम्झौता गर्न दुई महिना लागेको थियो र सम्झौता सुरुमा १२० दिनका लागि भनिएको थियो।

सम्झौताको संयोजन र अनुगमनका लागि इस्तानबुलमा केन्द्र स्थापना गरेर राष्ट्र सङ्घ, टर्की, रुसी र युक्रेनी अधिकारीहरू कर्मचारी रहने व्यवस्था गरिएको थियो।

यदि दुवै पार्टी सहमत भए उक्त सम्झौताको समयावधि लम्ब्याउन सकिने भनिएको छ।

युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले ओडेसामा भएको आक्रमणले अन्तर्राष्ट्रिय कानुनप्रति रुसको पूर्ण बेवास्ता उजागर गरेको बताएका छन्।

इस्तानबुल सम्झौता भएको अर्को दिनमै अन्न निर्यात हुने ठाउँलाई निशाना बनाइनु निन्दनीय छ,घटनाको युरोपेली सङ्घले कडा शब्दमा निन्दा गरेको उल्लेख गर्दै उनले ट्वीट गरेका छन्।

अन्न निर्यात गर्ने सम्झौताको पूर्ण कार्यान्वयन अत्यावश्यक रहेको भन्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि आक्रमणको स्पष्ट शब्दमा निन्दा गर्नुभएको छ ।

किएभमा रहेका बीबीसीका पल एडम्सले ओडेसामा भएको आक्रमणलाई अन्न निर्यात सम्झौता कमजोर बनाउने प्रयासको रूपमा हेरिएको बताएका छन्। बीबीसी संवाददाताका अनुसार यो घटना रुसी रक्षामन्त्री सर्गेइ सोइगुको भनाइसँग मेल खाँदैन।

जारी युद्धमा खेअरसन क्षेत्रमा युक्रेनी फौजले रुसी सैनिकहरूका लागि हुने आपूर्ति बन्द गरिदिएको ब्रिटिश रक्षा अधिकारीहरूले बताएका छन्।

युक्रेनी सेनाले अमेरिकाले प्रदान गरेको लामो दुरीमा क्षेप्यास्त्र प्रहार गर्न सकिने प्रणालीबाट खेअरसन एन्टोनोभ्सकी पुलमा निशाना बनाएका छन्। यो पुल ध्वस्त भएको अवस्थामा रुसको आपूर्ति लाइन नराम्ररी तितरबितर हुनेछ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर