जापान, २४ असार । गोली प्रहार भएपछि गम्भीर घाइते हुुनुभएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। उहाँ ६७ वर्षको हुनुहुन्थ्यो ।
सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो।
भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उहाँको गर्दनमा लागेको थियो।
गोली लागेपछि उहाँ भुइँमा ढल्नुुभएको थियो । उहाँको शरीर रक्ताम्मे देखिएको थियो।
यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताउनुभएको थियो ।
समाचार विवरणहरूका अनुसार उहाँलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।
जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिएको थियो। आबेलाई अस्पताल लगिएको थियो ।
नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ।
अस्पतालमा उहाँलाई रगत दिइएको थियो।
आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।
बीबीसीका जापान संवाददाता रुपर्ट विङ्फील्ड हेयसका अनुसार प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन्।
पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन। तर दोस्रो गोली उहाँको गर्दनमा लाग्यो।
गोली लागेपछि उहाँको शरीरबाट रगत बग्न थालेको थियो र उहाँ भुइँमा ढल्नुभएको थियो ।
आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते।
स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ।
शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बन्नुभएको नेता हुनुहुन्छ ।
स्वास्थ्यको कारण देखाउँदै उहाँले सन् २०२० मा पदत्याग गर्नुभएको थियो ।
पछि उहाँले आफू पेटको रोगबाट पीडित भएको बताउनुभयो ।
योशिहिदे सुगा उहाँको उत्तराधिकारी बन्नुभयो । त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बन्नुभयो ।
जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ।
जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए। अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो।
जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।बीबीसी
