काठमाडौ, २३ असार । यूके र अमेरिकी गुप्तचर निकायका प्रमुखहरूले पहिलो पटक संयुक्त रूपमा चीनबाट हुन सक्ने खतराबारे चेतावनी दिएका छन्।
अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीन हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठूलो दीर्घकालीन खतरा भएको र हालै भएको चुनाव सहित अन्य राजनीतिक गतिविधिमा हस्तक्षेप गरेको बताउनुभयो ।
एमआई फाइभ प्रमुख केन म्याकलमले आफूहरूले पछिल्लो तीन वर्षमा चिनियाँ गतिविधि विरुद्ध पहल दुई गुना बढी बनाएको र यो क्रम अझै जारी राख्ने दाबी गर्नुभयो ।
यूकेको सुरक्षासम्बन्धी निकाय एमआई फाइभले सन् २०१८ को तुलनामा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान सात गुना बढी तीव्र बनाएको उहाँले बताउनुभयो ।
एफबीआईका रेले चीनले ताइवानलाई जबरजस्ती नियन्त्रणमा लिए उसले विश्वले देखेको सबैभन्दा डरलाग्दो व्यापारिक प्रतिबन्धहरूमध्ये एक भोग्ने चेतावनी दिनुभयो ।
दुई निर्देशकहरूले लन्डन टेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयबाट पहिलो पटक संयुक्त सार्वजनिक उपस्थिति जनाउनुभएको हो ।
म्याकलमले चिनियाँ कम्युनिस्ट पार्टीले खडा गरेको चुनौतीले व्यापक प्रभाव पारेको बताउनुभयो । रेले त्यसलाई बृहत्र चकित पार्ने खाले को संज्ञा दिनुभयो ।
विभिन्न व्यवसायका प्रमुख कार्यकारी र विश्वविद्यालयहरूका वरिष्ठ व्यक्तिहरूलाई सम्बोधन गर्दै रेले चिनियाँ सरकार उपकरणहरूको प्रयोग गरेर तपाईँको प्रविधि चोर्न तयार रहेको चेतावनी दिनुभयो ।
यसबाट पश्चिमी व्यवसायहरूमा धेरै व्यवसायीहरूले ठानेकोभन्दा अझै गम्भीर खतरा भएको उहाँले बताउनुभयो ।
उहाँले ग्रामीण अमेरिकामा चिनियाँ कम्पनीहरूसँग जोडिएका व्यक्तिहरूले आनुवंशिक रूपमा परिमार्जित बीउ आविष्कार गरेका घटनाहरू उद्धृत गर्दै भन्नुभयो जसका लागि उनीहरूको अर्बौँ डलर र लगभग एक दशक समय खर्च भएको हुन सक्छ।
उहाँँले चीनले ठूलो मात्रामा ठगी र चोरी गर्नका लागि साइबर जासुसलाई तैनाथ गरेको समेत बताए जस अन्तर्गत एक ठूलो ह्याकिङ कार्यक्रम रहेको छ।
एमआई फाइभ प्रमुखले साइबर धम्की बारे गोप्य जानकारी ३७ देशहरूलाई दिइएको जानकारी दिनुभयो ।
म्याकलमले चीनसँग सम्बन्धित उदाहरणहरूको शृङ्खलालाई पनि औँल्याउनुभयो ।
उहाँका अनुसार एकजना ब्रिटिश उड्डयन विज्ञलाई अनलाइनमार्फत् आकर्षक रोजगारीको अवसर प्रस्ताव गरिएको थियो।
चिनियाँ गुप्तचर अधिकारीहरूका लागि काम गर्ने एक कम्पनीले सैन्य विमानको बारेमा प्राविधिक जानकारी सोध्नु अघि उनले दुई पटक चीनसम्मको यात्रा गरेको उहाँले बताउनुभयो ।
एफबीआई निर्देशकले चिनियाँ सरकारले न्यूयोर्कमा भएको संसदीय चुनावमा चीनले प्रत्यक्ष हस्तक्षेप गरेको भनाइ राख्नुभयो ।
चीनले साइबर जासुसहरू सक्रिय राखेको यूके र अमेरिकाको दाबी छ।
चीनले तियानानमेन स्क्वायरमा भएको घटनाका आलोचक र पूर्व प्रदर्शनकारी समेत रहेका एक जना उम्मेदवार निर्वाचित नहोऊन् भन्ने हेतुले त्यसो गरेको उहाँले बताउनुभयो ।
उनीहरूले त्यसका लागि एक निजी अनुसन्धानकर्ता नियुक्त गरेको आरोप लगाइएको छ।
उनीविरुद्ध केही नभेटेपछि कार दुर्घटना र यौनकर्मीको प्रयोग गरेर विवाद सिर्जना गर्ने प्रयास भएको एफबीआई निर्देशकको भनाइ छ।
युक्रेनको युद्धबाट चीनले सबै किसिमका पाठ पढिरहेको रेले बताउनुभयो । जसअन्तर्गत रुसविरुद्ध लगाइएका जस्ता प्रतिबन्धहरूबाट आफूलाई जोगाउने चीनको प्रयास समेत समाविष्ट भएको उहाँको तर्क छ।
चीनले ताइवानमा आक्रमण गरेको खण्डमा आर्थिक अवरोध यस वर्ष देखिएको भन्दा व्यापक हुने उहाँले बताउनुभयो । चीनमा पश्चिमी लगानीहरू ठप्प र आपूर्ति शृङ्खलाहरू अवरुद्ध भइरहेका छन्।
एमआई फाइभका प्रमुखले नयाँ कानुनले जोखिम विरुद्ध लड्न मद्दत गर्ने जनाउनुभयो ।
तर यूकेले समाजका सबै पक्षहरूलाई जोखिमहरूबारे सचेत रहेको सुनिश्चित गरेर बलियो बन्न आवश्यक रहेको भनाइ राख्नुभयो ।
उहाँका अनुसार भिसा प्रणालीमा सुधार गर्दा चिनियाँ सेनासँग सम्बन्धित ५० भन्दा बढी विद्यार्थी यूकेबाट बाहिरिएका छन्।
चीन लामो समयदेखि सबैको निम्ति दोस्रो उच्च प्राथमिकताको विषय भयो, रेले भन्नुभयो , अब भने ऊ सबैले देख्ने ठाउँमा छ।
