काठमाण्डौँ, १४ असार । काठमाण्डौं उपत्यकामा हैजाको विरामी दिनहुँ थपिएका छन् । यसका विरामी दुइ हप्ता अघि काठमाण्डौंको बागबजारमा भेटिएका थिए । यो रोग त्यसपछि विस्तारै फैलिइरहेको छ ।
यसरी हैजाका विरामी बढ्न थालेपछि काडमाण्डौं महानगरपालिकाले विरामीको सुविधा र जानकारीको लागि चौबिसै घण्टा उपलब्ध हुने टेलफोन सेवा सन्चालन गरेको छ ।
कामनपाका अनुसार ११८० मा फोन गरी हैजा सम्बन्धी जानकारी लिन र विरामीले उपचारको सेवा पाउन सक्ने छन् ।
उता ललितपुर महानगरपालिकाले पानीमा हैजाको जीवाणु रहेको भेटिएपछि सो पालिकाभित्रका सडक पेटीमा पानीपुरी र चटपटे आदि खाद्य सामग्री बिक्री वितरण गर्नमा रोक लगाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका बासिन्दाले उपभोग गर्ने विभिन्न ठाउँको पानीमा हैजाका जीवाणु फेला परेका छन्।
धारा, जार, इनारलगायत विभिन्न स्रोतका पानीका नमूना परीक्षण गर्दा हैजाका जीवाणु फेला परेका हुन्।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार काठमाण्डौं र ललितपुरका विभिन्न ठाउँमा गरी आजसम्म हैजाका जिवाणुबाट १२ जना संक्रमित भेटिएका छन् ।
सो महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनुभयो : हैजाका बिरामीको संख्या वृद्घि हुँदै गएको अवस्था छ । वागबजारपछि डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा संक्रमितहरू फेलापरेका हुन् ।
उहाँका अनुसार विरामीहरूमध्ये दुइ जनाको उपाचार हुँदैछ भने अन्य सन्चो भएर गैसकेका छन् ।
हैजाबाट बच्नको लागि पानी उमालेर मात्रै पिउने र बाहिरको खाना जथाभावी नखान सम्बन्धित निकाय र विज्ञहरूले नागरिकहरूलाई अनुरोध गरेका छन् ।
