काठमाण्डौँ, १० असार । देशभरका पालिकाहरुले आज शुक्रबार बजेट पेश गर्दैछन् । पालिकाहरुले हरेक आवको बजेट असार १० गतेभित्र पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनमा त्यस्तो व्यवस्था छ ।
सोही अनुसार पालिकाहरुले आज बजेट ल्याउन लागेका हुन् । बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेर पास गरिसक्नु पर्छ ।
संघीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए ।
यसैको आधारमा पालिकाहरुले बजेट ल्याउने गर्दछन् ।
मुलुकमा ७५३ पालिका छन् । गत बैशाख ३० गते चुनाव भएर पालिकामा नयाँ जनप्रतिनिधिहरू छानिएका छन् ।
बाजुराको बुढीगंगा नगरपालिकामा भने त्यस दिन भएको मतदान कार्यमा धाँधली भएकोले चुनाव रद्द भएको थियो । सो पालिकामा पुनः मतदान हुँदैछ ।
