काठमाडौँ, ६ असार । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उहाँले सरकारका नाममा रुलिङ गर्नुभएको हो ।
सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । सभामुखले भन्नुभयो, “माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न निर्देश गर्दछु ।”
नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उक्त मूल्यवृद्धिलाई लिएर सदनदेखि सडकसम्म विरोध भइरहेको छ । ‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ ।
बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाउनुभयो । उहाँले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाउनुभयो ।
हेर्दा सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको उहाँको भनाइ थियो । छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।
उहाँले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गर्नुभयो । सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिनुभयो ।
–––
