तनहुँ, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।
ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ ।
