रुपन्देही, २२ जेठ । भैरहवा –परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।
चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
बस दुर्घटनामा परेर ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।
