काठमाडौ, १८ जेठ । रुसी सेनाले आक्रमण थालेयता युक्रेनमा झन्डै १५,००० वटा सन्दिग्ध युद्ध अपराधका घटना भएको र २०० देखि ३०० घटना दैनिक रिपोर्ट गरिएको त्यहाँकी प्रमुख अभियोजनकर्ताले बताउनुभएको छ ।

ती घटनामा झन्डै ६०० सन्दिग्धको पहिचान गरिसकिएको र ८० वटा मुद्दा सुरु पनि भइसकेको एरिना भेनेदिक्तोभाले द हेगमा पत्रकारहरूलाई बताउनुभयो ।

उहाँका अनुसार युद्ध अपराधमा संलग्नहरूको सूचीमा उच्च सैनिक अधिकारी, राजनीतिज्ञ तथा दुष्प्रचार गर्ने रुसी एजेन्टहरू छन्।

रुसले चाहिँ युद्धका क्रममा गैरसैनिक नागरिकहरूलाई निसाना बनाउने गरेको अथवा युद्ध अपराधमा संलग्न रहेको कुरा अस्वीकार गर्दै आएको छ।
प्रमुख अभियोजनकर्ता भेनेदिक्तोभाका अनुसार १५,००० हजार सन्दिग्ध युद्ध अपराधका घटनामध्ये हजारौँ घटना पूर्वी डोन्बास क्षेत्रसँग सम्बन्धित रहेको पाइएको छ।

सो क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण लडाइँहरू भएका छन्।

त्यहाँ भएका आरोपित युद्ध अपराधका घटनामा वयस्क तथा बालबालिकासहितका मानिसहरूलाई बलपूर्वक रुसका विभिन्न क्षेत्रमा पुर्‍याइएका लगायतका घटना रहेको भेनेदिक्तोभाले बताउुनुभयो ।

यातना, सर्वसाधारणको हत्या र गैरसैन्य पूर्वाधारहरूमा क्षति पुर्‍याइएका घटना पनि सन्दिग्ध युद्ध अपराधमा समेटिएको उहाँले जनाउनुभयो ।

पूर्वी क्षेत्रसँग सम्बन्धित घटनाबारे अनुसन्धान सुरु भइसके पनि रुस नियन्त्रित क्षेत्रहरूमा चाहिँ युक्रेनी अधिकारीहरू पुग्न नसकेको भेनेदिक्तोभालाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ।

यद्यपि अनुसन्धानकर्ताहरूले उद्धार गरिएका तथा युद्धबन्दी बनाइएका व्यक्तिहरूको अन्तर्वार्ता लिइरहेको उहाँले बताउनुभयो ।

लडाइँ चलिरहेकै समयमा अनुसन्धान गर्नु निकै कठिन हुँदो रहेछ, जर्मन समाचारसंस्था डीपीएले भेनेदिक्तोभालाई उद्धृत गर्दै लेखेको छ।

प्रमुख अभियोजनकर्ता भेनेदिक्तोभाका अनुसार अनुसन्धान कार्यमा एस्टोनिआ, लाट्भिआ र स्लोभाकिआ पनि संलग्न भएको उहाँले बताउनुभयो ।

पोल्यान्ड र लिथुआनिआले पहिलेबाटै सघाइरहेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले युक्रेनलाई अपराधस्थलको रूपमा वर्णन गरेको छ र अनुसन्धानमा सघाउन हालसम्मकै ठूलो टोली परिचालन गरेको छ।

आईसीसीले युक्रेनको राजधानी किएभमा आफ्नो कार्यालय खोल्ने विश्वास लिएको जनाएको छ।

गैरसैनिक क्षेत्रलाई घेराबन्दीमा पारी आक्रमण गरेको अभियोगमा दुई रुसी सैनिकलाई युक्रेनमा साढे ११ वर्ष जेलसजाय सुनाइएकै दिन आईसीसीको यो घोषणा आएको हो।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर