काठमाण्डौं, १५ जेठ । स्पेनिस फुटबल क्लव रियल म्याड्रिडले यसपटक (२०२१/२०२२) को च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गए राति फ्रान्सको नेशनल स्टेडियम स्टेड डी फ्रान्समा भएको फाइनल खेलमा इङ्गल्याण्डको लिभरपुल फुटबल क्लवलाई हराउँदै म्याड्रिडले यो उपाधि जितेको हो ।

यो जितसँगै रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि १४ औं पटक आफ्नो पोल्टामा पारेको छ भने युरोपियन फुटबल प्रतियोगिताको सर्बाधिक महत्वको यो कप सातौं पटक चुम्ने बलियो आशामा पेरिस पुगेको लिभरपुलले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।

पछिल्लो पटक २०१९ मा च्याम्पियन्स लिग जितेको लिभरपुल यसपटकको घरेलु प्रतियोगिता प्रिमियर लिगमा पनि दोस्रो स्थानमै खुम्चिएको छ ।  आजको च्याम्पियन्स लिग फाइनल खेलमा मध्यान्तर अघिको समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् ।

तर मध्यान्तर पछि ५९ औं मिनेटमा रियलका भिनिसिस जुनियरले पहिलो गोल गरे । यही गोल रियललाई उपाधि चुम्न पर्याप्त बन्यो। उनले फेडे भाल्भेर्डेको पासमा यो गोल गरेका थिए।

फुटबलका दुइ महारथ यी टिमको यो खेल सुरुको १५ मिनेटसम्म साँचै उपाधिकोलागि भएको भिडन्त हो वा उनीहरू अभ्यास गर्दैछन् भन्ने छुट्याउन मुस्किल थियो ।

त्यसपछि भने दुबैतर्फका खेलाडीले आफ्नो कौशल देखाउन थालेका थिए । बल भने प्राय लिभरपुलको पकडमा हुन्थ्यो र रियलको पोष्टमा उनीहरूले पटक पटक प्रहार पनि गरे । तर रियलका गोल्की थियाबट कोर्टवाका दरिला हातको अगाडि सलाह र मानेका खुट्टाका प्रहाहरू कमजोर सावित भए ।

हाप टाइम अगाडिको अन्तिमतिर रियलले पहिलो पल्ट रेड्सको पोस्टमा धावा गर्‍यो । त्यो बलले जाली पनि चुम्यो । तर फ्रान्सेली रेफ्रीले त्यसलाई मान्यता दिएनन् । यसकारण कि अफ साइडको संकेत गर्दै उनका सहयोगी रेफ्रीले पहेँलो झण्डा उठाएका थिए ।

हाप टाइमपछि पनि लिभरपुलका खेलाडीले रियलको पोष्टमा अरू थप सही प्रहर  त गरेका थिए तर प्रशिक्षक योर्गन क्लोपको चेहरमा मुस्कान ल्याउन ती प्रहरहरु सफल भएनन् ।  खेल रियलको १ गोल र लिभरपुलको शून्यमै सकियो ।

उता रियलको यो जितसँगै त्यसका प्रशिक्षक कार्लो एन्सेलोटी भने चारपल्ट च्याम्पियन्स लिग जिताउने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि उनकै प्रशिक्षकत्वमा एसी मिलानले दुई पटक र रियलले एक पटक यो उपाधि जितेका थिए । आज फेरि रियललाई उनैले उपाधि दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर