काठमाडौँ, ५ जेठ । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । आज साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी मेहता विजयी हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई दुई हजार ७७१ मतान्तरले पराजित गर्दै भण्डारी नगरप्रमुखमा निर्वाचित हुनुभयो । भण्डारीले ११ हजार ६१६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी पोखरेलले नौ हजार ५३ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का सहजादी प्रवीणलाई एक हजार ९१८ मतान्तरले पराजित गर्दै मेहता विजयी हुनुभयो ।
रुपन्देहीको सियारीमा कांग्रेस विजयी
रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले सात हजार २६८ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै उपाध्यक्षमा कांग्रेसका तारा थारु आठ हजार ९९० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकै अमृता गुरुङले सात हजार २६९ मत प्राप्त गर्नुभयो । वडा नं १ मा राप्रपाका अरुणकुमार शाही, वडा नं २ मा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी हुनुभएको छ । वडा नं ४ मा कांग्रेसकै श्रीराम यादव, ५ मा कांग्रेसकै धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ, ७ मा कांग्रेसका दीपकबहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
चन्द्रागिरिको प्रमुखमा कांग्रेसका गिरी र उपप्रमुखमा एमालेकी श्रेष्ठ विजयी
काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी विजयी हुनुभएको छ ।
वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित हुनुभएको हो । विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अजय श्रेष्ठले एक हजार २१४ मत प्राप्त गर्नुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १७ जनाले उम्मेदवारी दिनुभएको थियो । विजयी गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख हुनुहुन्थ्यो ।
उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित हुनुभएको छ । विजयी श्रेष्ठले १५ हजार ५६४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले चार हजार ४५९ मत प्राप्त गर्नुभएको छ ।
उक्त नगरपालिकाको उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको थियो । कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकामा यो स्थानीय तहको निर्वाचनमा ३६ हजार ७०३ मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो ।
–––
––
