सप्तरी, ५ जेठ । सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बन्नुभएको हो ।
उहाँले सात हजार २९२ मत ल्याउनुभयो । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ ।
सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले चार हजार २१७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहनुभएको छ । एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याउनुभयो ।
उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याउनुभएको छ ।
वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई÷दुईमा जीत हासिल गरेका छन् । सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।
सुस्ता गाउँपालिकामा कांग्रेस विजयी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी हुनुभएको हो ।
यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो । एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित हुनुभएको हो । उहाँले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गर्नुभएको हो । चौधरीले ६ हजार ६०५ तथा थरुनीले पाँच हजार ९८४ मत ल्याउनुभएको छ । पाँच वडा रहेको यस गाउँपालिकामा तीनमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं. १, ४ र ५ मा कांग्रेस तथा वडा नं २ र ३ मा एमाले विजयी भएको छ । तेइस हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७५४ मत खसेको थियो ।
