ललितपुर, ३ जेठ । ललितपुरको महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी विजयी हुनुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का डोल्मामाया गोले विजयी हुनुभएको छ ।
गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी हुनुभएको छ ।
मिक्लाजुङमा कांग्रेस विजयी
मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरेन्द्रप्रसाद ढुङ्गेल चार हजार ९१६ मत प्राप्त गर्नुभएको थियो ।
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का दिनेश पौडेल पाँच हजार ६२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमाले निर्मल राईले पाँच हजार ४५५ मत प्राप्त गर्नुभएको थियो ।
शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी
सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गर्नुभएको छ । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो ।
नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।
यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गर्नुभएको छ । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् ।
दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर , वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ ।
–––
–––
