नवलपुर, १ जेठ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ ।

छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित निकालेका छन् । वडा नम्बर ६ बाट मतगणना सुरु गरिएको बौँदीकालीको वडा नम्बर ६ र ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी हुनुभएको छ । उहाँले ७२९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, बौँदीकाली–५ मा भने एमालेको प्यानल नै वियजी भएका छ । यहाँ वडाध्यक्षमा एमालेका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ४६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गर्नुभयो ।

बौँदीकाली–४ को वडाध्यक्षमा कांग्रेसका मनबहादुर सारु मगर ८६८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गर्नुभयो । यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा बौँदीकालीको वडा नम्बर १, ३ र ४ कांग्रेसले जितेको थियो भने वडा नम्बर २, ५ र ६ एमालेले जितेको थियो ।

मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी

मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नुभएको छ । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनुभएको छ । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी हुनुभएको छ ।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राख्नुभएको छ भने गठबन्धनबाट नेकपा( माओवादी केन्द्र ) का विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनुभएको छ । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो । मत गणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर