काठमाडौँ, ३१ वैशाख ।  यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छवटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो ।

तीमध्ये कतिपयमा पुनः निर्वाचनको मिति तोकिएको छ भने अन्यमा निर्णय भइसकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आङ्कलन गर्न भनिएको बताउनुभयो । कतिपय मतदानस्थलमा देखिएको विवाद मिलाउन आयोगबाट टोली पनि जाने भएको छ ।

व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने
तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।

गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर