काठमाडौ, ७ वैशाख । रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्।

पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत्‌ भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले गोलाबारुदसहित अतिरिक्त अस्त्रहरू दिने बताउनुभएको छ ।

बाइडन प्रशासनले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको बताइएको छ।
त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गर्नुभएको छ ।

ब्रिटेनले चाहिँ पानीजहाजभेदी क्षेप्यास्त्र किएभ पठाउँदैछ।

रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गरेको छ।

तर रुसले किएभस्थित सरकारलाई सहयोग गर्ने मुलुकहरूले युद्धलाई लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ।

युक्रेनी अधिकारीहरूले डोन्बास क्षेत्रमा रुसले थालेको आक्रमणसँगै जारी युद्ध अर्को चरणमा प्रवेश गरेका बताएका छन्।

रुसले पछिल्लो समय आफ्नो ध्यान केन्द्रित गरेको पूर्वी डोन्बास क्षेत्रभित्रै लुहान्स्क र डोनेत्स्क पर्छ।

युक्रेनका अनुसार सोमवारयता रुसी फौजले ४८० किलोमिटर क्षेत्रमा रहेका युक्रेनी अखडाहरूलाई निशाना बनाइरहेका छन्।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको बताउनुभएको थियो ।

तर रुसले जतिसुकै सेना ल्याए पनि आफूहरू अन्तिम समयसम्म लडिरहने र प्रतिरक्षा गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर