काठमाडौ, ६ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गर्नुभएको छ ।

टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै उहाँले डोन्बासका लागि युद्ध शुरू भएको बताउनुभएको छ ।

डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताउनुभएको छ ।

रुसले जतिसुकै सेना ल्याएपनि केही छैन, हामी लडिरहनेछौँ। हामी आफ्नो प्रतिरक्षा गर्छौँ, उहाँले भन्नुभयो ।

रुसले आक्रमणहरू तीव्र पारिरहेका विवरणबीच युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ आएको हो।

डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही शहरहरूमा लगातार भइरहेका आक्रमणबीच स्थिति नर्क जस्तै भएको बताएका छन्।

जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले दोस्रो चरणको युद्धको शुरूवात गरेको बताएका छन्।

यसअघि युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्‌का सचिवले डोन्बास, लुहान्स्क र खार्किभ क्षेत्रका लगभग सबै अग्रपङ्क्तिलाई तोड्न रुसी फौजले प्रयत्न गरेको बताउनुभएको थियो ।

सोमवार युक्रेनका विभिन्न शहरमा रुसी फौजका बमबारीमा परी नौजना मारिएका थिए। रुसले सैन्य बन्दोबस्ती केन्द्रमाथि हमला गरेको बताएको छ।

यसैबीच युक्रेनका अधिकारीहरूले घेराबन्दीमा परेको बन्दरगाह शहर मारिऊपोलस्थित एउटा स्टील प्लान्टमा बाँकी रहेका युक्रेनी फौजमाथि रुसले तथाकथित बङ्कर विध्वंसक बमहरूको प्रयोग गरिरहेको आरोप लगाएका छन्।

नगर परिषद्‌का अनुसार भूमिगत आश्रयस्थलहरूमा एक हजार सर्वसाधारणले शरण लिइरहेका छन्।

मारिऊपोलमा बाँकी रहेको युक्रेनी सेनाको अन्तिम जत्थाका प्रमुखले सर्वसाधारण तथा घाइते सैनिकलाई निस्कनका लागि सुरक्षित मार्ग दिन एउटा भिडिओमार्फत् अपील गरेका छन्।

फसेका मानिसहरूलाई बाहिरिन दिने विषयमा युक्रेनी र रुसी फौजबीच दुई दिनदेखि सहमति हुन सकिरहेको छैन।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर